निर्देशक चाम्स भन्छन्, ’नयाँ कलाकारमा व्यावसायिकता बढी पाएँ’

निर्देशक तथा निर्माता मिलन चाम्सले नयाँ कलाकारमा काम प्रतिको इमान्दारिता बढी पाइएको बताएका छन् । आफू निर्देशित फिल्म ‘गोर्खा वारियर’ को टिजर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ कलाकारहरूको तारिफ गरे । ‘नयाँमा व्यावसायिक पक्ष बलियो पाएँ । काम प्रति उहाँहरूमा लगाव छ । पुरानाले यत्ति गर्ने हो भने निर्माण पक्षलाई आर्थिकभार कम हुन्छ’, निर्देशक चाम्सले भने ।

‘हसियाँ’ मार्फत निर्देशकको रुपमा डेब्यु गरेका निर्देशक चाम्सले पुराना कलाकारहरू कामलाई लिएर ढिला सुस्ती गर्ने गरेको बताए । ‘एउटा कलाकार एकछिन सेटमा ढिला आउँदा त्यसको असर सबैलाई पर्छ । तर, स्टार भनिने कलाकारले त्यो बुझेनन् वा बुझ्न खोजेनन्’, उनले भने । निर्देशक चाम्सले डेब्यु फिल्मदेखि नै स्टार कलाकारहरूसँग काम गरेका छन् । यसपटक उनले नयाँ कलाकारहरूलाई लिएर फिल्म तयार गरेका हुन् ।

सन् १९४९ मा भएको मलाया युद्ध लडेको एक वीर सैनिकको कथामा फिल्म बनेको छ । निर्देशक चाम्सले फिल्मले युद्धसँगै सैनिकको जीवनी समेत देखाउने जानकारी दिए । ‘सैनिकको परिवार र जीवनी समेत समेटेका छौँ । नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ’, निर्देशक चाम्सले भने । उनले फिल्ममा जंगल युद्ध देखाइएको जानकारी दिदै फिल्मी भन्दा पनि वास्तविक युद्ध र तरिका देख्न पाइने बताए ।

नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा प्रिमियर हुँदैछ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् । नेपाल र मलेशियामा छायांकन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत रहेको छ ।


ताजा खबर