फ्राइडे रिलिज अन्तर्गत दुईवटा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । तीजको अवसर पारेर शुक्रबारबाट ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका हुन् ।
एक्सन–ड्रामा जनरामा राखिएको फिल्म ‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायत कलाकारको अभिनय छ ।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन छ ।
आजैबाट अर्को क्राइम थ्रिलर जानरामा निर्माण भएको ‘देवी’ पनि प्रदर्शनमा आएको छ । यो फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राई र अजय गौतमले लेखेका छन् ।
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ । फिल्ममा सन्जेन थापाको एक्सन छ ।
एक्जिबिट स्टुडियोको प्रस्तुतिमा फिल्म ‘देवी’ बनेको हो । यो फिल्म निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।
रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गरेको छ ।