आज (शुक्रबार)देखि प्रदर्शनमा आएको फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा सिफारिस भएको छ ।
मीन भामको निर्देशित यो फिल्मले आगामी ओस्कारका लागि नेपालबाट प्रतिनिधित्व गर्ने भएको हो ।
अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९७ औं संस्करणका लागि नेपालबाट साम्बालाले प्रतिनिधित्व गर्ने भएको फिल्मका निर्माताले जानकारी दिएका हुन् ।
जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको यो फिल्ममा बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा प्रस्तुत गरिएको छ ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय रहेको छ । फिल्मको कथा मिन भाम र अभिनास विक्रम शाहले लेखेका हुन् ।
प्रदर्शन अघि यो चलचित्रको गत आइतबार काठमाडौँमा प्रिमियर गरिएको थियो। जहाँ भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा गत आइतबार प्रिमियर भएको थियो ।