‘छक्का पन्जा ५’को ट्रेलरमा राजनीतिक बिषय, कमेडी र प्रेमका कुरा

चलचित्र ‘छक्का पन्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ। दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा राजनीतिक विषयवस्तु, पारिवारिक कथा, र कमेडीका पाटाहरूलाई जोड दिइएको छ। आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्म असोज २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

ट्रेलर सार्वजनिक हुँदा दर्शकले फिल्ममा राजनीतिक परिस्थितिलाई हास्यव्यंग्यको शैलीमा प्रस्तुत गरिएको देख्न पाएका छन्। यसमा प्रेमकथा र पारिवारिक सम्बन्धका उतारचढावहरू पनि देखाइएका छन्।

फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम लगायतका कलाकारहरूको अभिनय छ। दीपकराज गिरीले कथा र पटकथा लेखेका छन् भने संवादहरू दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलिप तामाङले तयार पारेका हुन्।

फिल्मका कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन्, जबकि केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताका रूपमा रहेका छन्।

हरि हुमागाईँको छायांकनमा बनेको यो फिल्मको सम्पादन विपिन मल्लले गरेका छन् भने गम्भिर बिष्ट र सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्। शम्भुजित बास्कोटा, दीपक शर्मा, र बाबुल गिरिको संगीतले फिल्मलाई थप मनोरञ्जक बनाएको छ।

‘छक्का पन्जा’ सिरिजको पाँचौँ भाग भएकोले यस फिल्मप्रति दर्शकको अपेक्षा उच्च रहेको छ, र यसले पुनः बक्स अफिसमा राम्रो व्यापार गर्ने आशा गरिएको छ।


ताजा खबर