‘मिसेस नेपाल वर्ल्ड २०२४’ को उपाधि डेनिलालाई, अमेरिकामा हुने ‘मिसेज वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने

डेनिला कार्कीले ‘मिसेज नेपाल वर्ल्ड २०२४’ को उपाधि जित्दै आगामी मिसेज वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् ।

शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा आयोजित प्रतियोगितामा प्रतियोगी नम्बर २१ का रूपमा प्रतिस्पर्धामा उत्रिएकी उनले उत्कृष्ट प्रदर्शन गर्दै यो प्रतिष्ठित उपाधि आफ्नो नाम गरेकी हुन् ।

विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे ।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको यस प्रतियोगितामा सुयाशा राउतले मिसेज नेपाल इन्टरनेशनलको उपाधि जितेकी छन्, जसले सिंगापुरमा हुने मिसेज इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, प्रतियोगी नम्बर २६ की रेश्मा घिमिरेले मिस नेपाल इन्टरनेशनलको उपाधि जित्दै मिस इन्टरनेशनल मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

अन्य प्रतियोगीहरूमध्ये प्रतियोगी नम्बर १३, अलिना घिमिरेलाई फर्स्ट रनर-अप, किरण कार्की (प्रतियोगी नम्बर १९) सेकेन्ड रनर-अप, र अनु कार्की (प्रतियोगी नम्बर ४) लाई थर्ड रनर-अप घोषित गरियो ।

नेपाली विवाहित महिलाहरूको सुन्दरता, आत्मविश्वास, र प्रतिभालाई सम्मान गर्दै आयोजना गरिएको यस प्रतियोगितामा प्रमुख निर्णायकको रूपमा सिएनएन हिरो अनुराधा कोइराला, अन्य निर्णायकमा कलाकार केदार घिमिरे र पत्रकार अखण्ड भण्डारीले भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता अश्विनीकान्त झाको कोरियोग्राफीमा सम्पन्न भएको हो ।

रिबन इन्टरटेनमेन्टका प्रमुख निशुकान्त झाका अनुसार प्रतियोगिताको उद्देश्य नेपाली महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिने बताइएको छ ।


ताजा खबर