रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि फिल्ममा कलाकार उत्तम प्रधानको प्रवेश पछि फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गएको हो ।
उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय थिएनन् ।
फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।