बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउन लागेकी छन्। आगामी १४ डिसेम्बरमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना हुने फेसन शो ग्ल्याम नेपाल इन्टरनेशनल २०२४ मा उनी शोटपरको रूपमा सहभागी हुने पक्का भएको छ। यस फेसन शोको मुख्य प्रायोजक ट्रयु स्किन एण्ड हेल्दी च्वाइस रहेको छ।
प्रारम्भ प्रोडक्सनले आयोजना गर्न लागेको यो चौथो सिजनको शोमा, नेपालका विभिन्न मोडल र डिजाइनरहरुले सहभागीता जनाउनेछन्। इच्छुक मोडलहरूका लागि आवेदन खुला गरिएको छ, जसका लागि इच्छुकले इसेवा एप मार्फत फारम भर्न सक्नेछन्। शोमा सहभागिता जनाउन चाहने फिमेल मोडलको उचाइ ५.४ फिट र मेल मोडलको उचाइ ५.१० फिट भन्दा माथि हुनुपर्नेछ।
प्रारम्भ प्रोडक्सनका निर्देशक पवन आचार्यका अनुसार, मोडल छनोट अडिसन ९ नोभेम्बरमा होटल हिमालयनमा आयोजना गरिनेछ। अडिसनबाट ६ जना मेल र २४ जना फिमेल गरी ३० जना मोडल छानिनेछन्। फेसन शोमा नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको नयाँ तथा आकर्षक पहिरनका डिजाइनहरु विभिन्न सिक्वेलमा प्रस्तुत गरिनेछ।
यो फेसन शो फेसन प्रेमीहरुलाई नयाँ ट्रेन्ड र पहिरनका जानकारी दिन र फेसन डिजाइनरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिँदैछ। शोमा व्यवसायी, कलाकार, मोडल, लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहनेछ।
शोको उत्कृष्ट मोडल र डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनल फेसन शोमा भाग लिने अवसर पनि प्राप्त गर्नेछन्।