‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक, हङकङमा वर्ल्ड प्रिमियर हुने

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । साथै, फिल्मको वर्ल्ड प्रिमियर मिति पनि घोषणा गरिएको छ ।

राष्ट्रिय अवार्ड विजेता मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्मको वर्ल्ड प्रिमियर आउँदो मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा गरिने भएको छ । प्रिमियरमा क्याप्टेन एञ्जिला तुम्बापो सुब्बा स्वयं र निर्देशक चाम्सको उपस्थिति रहनेछ ।

निर्माता प्रेम कुमार श्रेष्ठका अनुसार हङकङ प्रिमियरपछि यो फिल्म युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा प्रदर्शित गरिनेछ भने नेपालमा यसको प्रदर्शन फागुन २९ गते तोकिएको छ ।

फिल्ममा एञ्जिला तुम्बापो सुब्बा नै मुख्य भूमिकामा देखिनेछिन् । साथै, फिल्ममा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङजस्ता चर्चित कलाकारहरूको समेत अभिनय रहेको छ। निर्माता प्रेम कुमार श्रेष्ठ पनि फिल्ममा प्रमुख भूमिकामा देखिनेछन् ।

‘अञ्जिला’मा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष, संघर्षबाट प्राप्त सफलता र प्रेरणालाई चित्रण गरिएको छ। निर्देशक चाम्सका अनुसार यो फिल्मले दर्शकमा इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश प्रवाह गर्नेछ ।

फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको हो ।

‘अञ्जिला’लाई सुदीप बरालले छायाङ्कन गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माताका रूपमा छन् ।


ताजा खबर