नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने भएको छ । सिकाईको पाठशाला स्लोगन दिइएको यस रियालिटी शोमा क्यारिकेचर कमेडीयनहरु सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ ।
‘मिमिक्री किङ्ग’लाई कमेडियन दिनेश काफ्लेले निर्देशन गर्दैछन् । काफ्लेका अनुसार शो आगामी फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । शोको डिजिटल राइट्समा ओएसआर डिजिटल रहेको छ । यस्तै शो एक राष्ट्रिय टेलिभिजनमार्फत पनि प्रसारण हुनेछ ।
‘हामी अहिले स्टुडियोको काममा ब्यस्त छौं, यो शो नेपालका लागी मात्र नभई वल्र्डमै फरक हुनेमा ढुक्क छौं । हामीले बुझे अनुसार मिमिक्री गर्नेहरुका लागी छुट्टै शो बनेको छैन ।’ निर्देशक काफ्लेले भने । ‘छिट्टै हामी डिजिटल अडिसन खुलाउने तयारीमा छौं ।’ उनका अनुसार शोमा तीन निर्णायक हुनेछन् । भने एक मिमिक्री निर्णायक छुट्टै हुनेछ । काफ्लेले अगाडी भन्छन्, ‘मिमिक्रीसँगै अभिनय गर्नेहरुलाई लक्षित गरेर निर्णायक टिम बनाउँदै छौं ।’
शोको बिजेतालाई एक कार र नगद उपहार प्रदान गरिने घोषणा गरिएको छ । साथै बिजेताले बिदेशका केहि कार्यक्रममा प्रस्तुती दिने अवसर समेत पाउनेछन् ।