चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप सार्वजनिक भएको छ। निर्देशक अर्जुन सुवेदीले जानकारी दिएअनुसार चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
चलचित्रमा प्रमुख भूमिकामा अभिनेता प्रकाश सपूत र विल्सन विक्रम राई तथा अभिनेत्री परीक्षा लिम्बु रहनेछन् । प्रकाश सपूतले ‘भीमसेन पोखरेल’ र परीक्षा लिम्बुले ‘दिलासा राई’को भूमिका निभाउनेछन् । यी दुई कलाकार पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् ।
अन्य कलाकारहरूमा रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडाको अभिनय रहनेछ। साथै, अडिसनमार्फत छनौट भएकी नवकलाकार सब्बु गुरुङले पनि प्रमुख भूमिका निभाउनेछिन्।
भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुने यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध सशक्त सन्देश प्रवाह गर्नेछ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा चलचित्रको मुख्य आकर्षण रहनेछ।
चलचित्रको संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले तयार गर्नेछन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन्।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति रहेको यो चलचित्र नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुँदैछ। चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। आरआर फिल्मस् प्रा.लि.ले नेपालमा र नेपसिनेले विदेशमा चलचित्र वितरण गर्नेछन्।
चलचित्रको छायाङ्कन पुस १५ बाट सुरु हुने छ भने २०८२ सालको असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज गर्ने लक्ष्य राखिएको छ।