यस वर्षको बहुप्रतिक्षित मानिएका दुई चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ हिजो शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।
प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका हुन् । ‘६ एकान ६’ मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।
यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन् । यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहनुभएको प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता गिरीले भने ।
यस्तै अर्को चलचित्र ‘छड्के–२’ हिजोबाट नै प्रदर्शनमा आएको छ । यो ‘छड्के’ को सिक्वेल हो । यसमा अभिनेता अनमोल केसी फरक भूमिकामा प्रस्तुत छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ ।
यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रदर्शनको दोस्रो दिन दुइटै चलचित्रले शत प्रतिशत अकुपेन्सीको आशा गरेका छन् । तर, हिजो भन्दा आज हलहरूमा दर्शकको फ्लो राम्रो देख्न सकिन्छ । ‘छड्के २’ भन्दा ‘छक्का पञ्जा ४’ को अकुपेन्सी तुलनात्मक रुपमा राम्रो छ ।
‘छक्का पञ्जा ४’ चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि चलचित्रले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ ।
‘छड्के २’ले भने दर्शकबाट खासै राम्रो प्रतिकृया पाइरहेको छैन् । हिजो शुक्रबार नै ओपनिङमा सकस देखिएको पछि दर्शकको वर्ड अफ माउथको साथ नपाएको देख्न सकिन्छ ।