बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत नेपाली फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको यो फिल्म आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउने छ।
जीवन सेञ्चुरीको निर्देशन रहेको यस फिल्मको फस्टलुकमा मुख्य पात्र अस्मिता ढकाललाई ग्रामीण परिवेशमा सोलो प्रस्तुत गरिएको छ। पोस्टरमा अस्मितालाई सिन्दुर, पोते, र हातमा बाला सहित ग्रामीण पहिरनमा देख्न सकिन्छ। उनी गम्भीर मुद्रामा कतै टोलाइरहेकी देखिन्छन्। पृष्ठभूमिमा रुखको फेद झल्किनुले दृश्यलाई ग्रामीण शैलीमा दर्शाउन खोजिएको छ। पोस्टरलाई राकेश दाहालले डिजाइन गरेका हुन्।
निर्देशक सेञ्चुरीका अनुसार फिल्मले “बाल विवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं” भन्ने नारालाई मुख्य विषय बनाएको छ। नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी लगायतका कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यो फिल्मले सम्बोधन गर्ने प्रयास गरेको छ। सेञ्चुरीले फिल्मले नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने विश्वास व्यक्त गरेका छन्।
फिल्ममा अस्मिता ढकालसँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीले अभिनय गरेका छन्।
राजबहादुर सानेको कथामा आधारित फिल्ममा बीबी अनुरागी र रमेश सेञ्चुरीले संगीत भरेका छन्। जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्दमा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीले स्वर दिएका छन्। छायांकन रामेश्वर हुमागाईंले गरेका छन् भने फिल्मका लगानीकर्ता दीपकप्रसाद घिमिरे हुन्।
यो फिल्म पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, र समालोचकहरूले विशेष प्रदर्शनमा हेरिसकेका छन्। उनीहरूले फिल्मको विषयवस्तु र प्रस्तुतीकरणप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
फिल्म पर्वतको सालिजा ओख्रेनी गाउँमा छायांकन गरिएको हो। यसको वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लिएका छन्।
‘जुना’ ले सामाजिक कुप्रथाविरुद्ध सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।