‘बलिदान’का लागि ४२ फिट अग्लो कालीको मूर्ति तयार

निर्देशक सन्तोष सेनले चलचित्र ‘बलिदान’को ‘प्रोडक्सन भ्यालु’लाई बलियो तुल्याउन प्रयत्न गरेको देखिएको छ ।

चलचित्रका लागि ४२ फिट अग्लो कालीमाताको विशाल मूर्ति निर्माण गरिएको छ। यो मूर्ति चलचित्रको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई प्रतिविम्बित गर्न तयार गरिएको हो।

चलचित्रका निर्देशक सेनले नेपालमा उपयुक्त मूर्ति भेटाउन नसकेपछि भारतको कोलकातामा गएर त्यहाँका कुशल कालिगडहरूको सहयोगमा मूर्ति निर्माण गरिएको जानकारी दिए। सेनका अनुसार, “देशभर खोज्दा पनि हामीले चलचित्रको आवश्यकता अनुसारको मूर्ति पाएनौँ। त्यसपछि कोलकाता पुगेर त्यहाँका कलाकारहरूसँग मिलेर मूर्ति तयार गर्‍यौँ।”

मूर्ति निर्माणपछि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई छायाङ्कन स्थल बनाइएको छ। यो स्थान ‘काली चौर’का रूपमा परिचित हुँदै गएको छ। चलचित्रका निर्देशकले छायाङ्कनका क्रममा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीय रोजगार सिर्जना गरेको र यो स्थानलाई मिनी बजारको रूपमा विकास गरेको जानकारी गराए।

चलचित्र ‘बलिदान’को छायाङ्कन लगभग पूरा भइसकेको छ। दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी एक्सन दृश्यहरू तयार गरिरहेका छन्। निर्देशक सेनका अनुसार, छायाङ्कन पूरा भएपछि टिजर र चलचित्रको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिनेछ।

‘बलिदान’ नेपालको सार्वभौम भूमिमा भइरहेका अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित छ। ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन्।

नेपाली समाजको यथार्थ चित्रण, भव्य दृश्य, र प्रविधिको उच्च प्रयोगले ‘बलिदान’लाई नेपाली दर्शकमाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ।


ताजा खबर