‘रंगी’को ‘छ भने माया’ गीतमा सलोन, नम्रतादेखि दिलिपसम्मको नृत्य

काठमाडौं । चलचित्र ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ ।

प्रणय दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको आइतबार आयोजित एक विशेष कार्यक्रमकाबीच पहिलो गीत सार्वजनिक गरिएको हो ।

गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द र संगीत छ भने विमल चिनलले गीतको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा सिनेमाका प्रमुख कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन् ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो गीतले नृत्यसँगै प्रेमका भावनालाई व्यक्त गरेको छ । सलोन र नम्रताबीचको प्रेम देखाइएको गीत दर्शकलाई मनपर्ने अपेक्षा गरिएको छ ।

गीत सार्वजनिकपछि संगीतकार दुर्गेश थापाले ‘छ भने माया’ले आगामी दशकको पनि संगीत–मेलोडीलाई समेटेको दाबी गरे । आनन्द कार्कीलाई आफ्नो शब्द र संगीतमा गाउन लगाउनु चुनौतीपूर्ण भए पनि गर्वको विषय भएको उनले बताए ।

गायक आनन्द कार्कीले गीतको शब्द र संगीत निकै सुन्दर रहेको बताउँदै यो गीत गाउन पाएकोमा खुसी व्यक्त गरे । गायिका सुजता केसीले आफूलाई यस्तो मनमोहक गीत गाउने अवसर दिएकोमा आभार प्रकट गरिन् ।

सिनेमाका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले अष्ट्रेलियामा रहँदा भर्चुअल माध्यमबाट यो गीत सुनेको स्मरण गर्दै दर्शकलाई उत्कृष्ट गीत दिन पाउँदा उत्साहित भएको बताए ।

‘डेब्यू’ नायिका नम्रता श्रेष्ठले आफ्नो पहिलो चलचित्र ‘रंगी’सँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै सिनेमामा आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोमा धन्यवाद दिइन् ।

निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सलोन बस्नेत र आफ्नो सोचको परिणाम भएको बताए । सामाजिक कथासँगै हास्य र भावुक क्षणले भरिएको यो सिनेमाले दर्शकलाई मनोरञ्जन दिने उनको विश्वास छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘रंगी’मा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, प्रिज्मा श्रेष्ठको मेकअप, र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ । सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

‘रंगी’लाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।


ताजा खबर