महाशिवरात्रिको अवसर पारेर आउँदो फागुन १४ गते नेपाली चलचित्र ‘मायावी’ प्रदर्शनमा आउँदैछ। हालसम्म यो सिनेमाका तीन वटा गीत तथा केही पोस्टर सार्वजनिक भइसकेका छन्, जसले दर्शकमाझ उत्साह थपेको छ।
यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। उनले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टूपिड मन’, ‘ड्रिम्स’, ‘क्याप्टेन’ जस्ता चर्चित चलचित्रहरू निर्देशन गरिसकेका छन्। प्रेम कथामा विशेष दखल राख्ने निर्देशक भट्टराई यसपटक ‘मायावी’ मार्फत आफ्नै मनको कथा दर्शकसामु ल्याउन पाएकोमा खुशी व्यक्त गर्छन्।
निर्देशक भट्टराईका अनुसार ‘मायावी’ शब्दको अर्थ सुन्दर जाल वा आकर्षण हो। ‘‘माया विना संसार चल्न सक्दैन, किनकि मायाले नै जीवनलाई बाँधेको हुन्छ। चाहे त्यो बाबु-आमाको माया होस्, चाहे प्रेमी-प्रेमिकाको माया, सबैमा त्याग र जुनून हुन्छ। ‘मायावी’ ले त्यही कथा बोल्छ,’’ उनी भन्छन्।
उनका अनुसार प्रेम पाउनेभन्दा प्रेम त्याग्नेहरूको कथा अझ बलियो हुन्छ। ‘‘पीडा पाएर पनि खुशी हुने पात्रहरूको कथा हो ‘मायावी’,’’ भट्टराई बताउँछन्।
चलचित्र पोखराको सेरोफेरोमा बस्ने एक सामान्य परिवारको कथा हो। यसले खुशी र सुखबीचको भिन्नतालाई दर्शाउने प्रयास गरेको निर्देशक बताउँछन्। ‘‘जीवनमा कहिलेकाहीँ गुमाएर पनि पाइरहनु नै मायावी हो। हामी जहाँ छौं, त्यहाँ सुख खोज्दा खुशी हराउन सक्छ। कसैका लागि पैसा खुशी हुन सक्छ, कसैका लागि नयाँ कपडा किन्दा पनि खुशी मिल्न सक्छ। त्यही सरलता र वास्तविकता फिल्ममा देखाइएको छ,’’ भट्टराई भन्छन्।
उनले ‘मायावी’ को कथा लेख्दा कुनै कलाकारलाई ध्यानमा नराखी ‘जोय’ नामक पात्रलाई केन्द्रमा राखेर कथा बुनेको खुलाए। व्यावसायिक पक्ष जस्तो भए पनि ‘मायावी’ बाट सन्तुष्ट रहेको बताउँदै भट्टराई दर्शकले यसलाई जसरी पनि लिए तापनि आफू खुशी हुने धारणा राख्छन्।
चलचित्रमा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। निर्देशक भट्टराईका अनुसार दर्शकले ‘मायावी’ हेरेपछि प्रेमको परिभाषामा नयाँपन महसुस गर्नेछन्।