चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’का निर्माताबीच सहमति, मुद्दा फिर्ता लिइने

काठमाडौं । चलचित्र ‘एक्टर : टेक वान’ र ‘एक्टर’ बीच सहमति भएको छ । दुई पक्षबीचको छलफलमा ‘एक्टर : टेक वान’लाई सिनेमा हलमा निर्वाध प्रदर्शन गर्न सहयोग गर्ने निर्णय भएको हो ।

काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दा ‘एक्टर’का निर्माताले फिर्ता लिने भएका छन् । शुक्रबार अदालत खुल्नासाथ, मुद्दा फिर्ता लिने सहमति भएको हो । यससँगै, चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शनको मिति तय गर्नको लागि छलफल भइरहेको छ ।

‘एक्टर’का निर्माता प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा अदालत पुगेका थिए, जसको कारण माघ १६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको थियो ।

चलचित्र ‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका हुन्, जसमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिब्या रायमाझी, आना शर्मालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रिमियरमा सिनेमा हेरेका दर्शकहरूले यसको तारिफ गरेका छन्।

‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए र यो चलचित्र माघ ४ गते नै रिलिज भइसकेको छ ।


ताजा खबर