काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशोमार्गी बनेकी छिन् । ओशो तपोवनमा पुगेर उनले ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन् । दीक्षापश्चात् उनको नयाँ नाम ‘माँ प्रेम हाँस्या’ रहेको छ ।
शोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत शिल्पाले स्वामी आनन्द अरुणबाट दीक्षा लिएको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसन्यास दिक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु।’
सिम्खडाले शिल्पाको सन्यास ग्रहणको फोटो र भिडियो सार्वजनिक गर्दै अबको आध्यात्मिक यात्राले उनको जीवनलाई नयाँ मोड दिने विश्वास व्यक्त गरेकी छन् ।
चलचित्र ‘लज्जा’बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो चलचित्र ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो ।
यो बीचमा चलचित्र नखेले पनि पूर्वपति छविराज ओझासँगको वैवाहिक सम्बन्धका कारण चर्चामा रहिन् ।
एक महिनाअघि मात्रै शिल्पा र छविराजबीच कानुनी रुपमा सम्बन्ध विच्छेद भएको थियो । शिल्पाले छविराजबाट पाँच करोडको घर लिएको समाचारहरु बाहिरिका थिए । तर, शिल्पाले यो विषयलाई नकार्दै आएकी छन् ।