‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

भोलिबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे ।

फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् । प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधीभर नै उत्तम नेपालमा रहनेछन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको भोलिबाट काठमाडौंमा छायांकन सुरु हुनेछ । फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ । हिमाल कडरीया र अमला देबी राई फिल्मका निर्माता हुन् । महेश दवाडीको लेखन रहेको यो फिलममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निसाल पौडेलको छायांकन रहने यो फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन् । यो बिचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए ।


ताजा खबर