‘वन अफ दि मिलियन्स’बाट हसनले गरे ७ वर्षपछि कमब्याक

काठमाडौं । चलचित्र ‘वन अफ दि मिलियन्स’को छायांकन सकिएको छ । ‘अलविदा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता हसनराजा खान अभिनित यो सिनेमाको हालै अमेरिकामा छायांकन सम्पन्न गरिएको हो ।

अभिनेता खान पछिल्लो पटक २०७४ सालमा प्रदर्शन भएको आफ्नै निर्माणको सिनेमा ‘रोमियो’मा देखिएका थिए । यस चलचित्रबाट उनी सात वर्षपछि पुनः अभिनयमा फर्किएका हुन् ।

हसनराजाले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने न्यूयोर्कमा आयोजित ‘ग्लोबल फिल्म अवार्ड’मा पनि सहभागी हुँदै उनले चलचित्र ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए ।

विशाल सापकोटाको निर्देशनमा बनेको ‘वन अफ दि मिलियन्स’ ११ दिनको छायांकनपछि तयार भएको हो । २०७६ सालमा ‘सेल्फी किङ’ निर्देशन गरेका सापकोटाको यो दोस्रो निर्देशकीय सिनेमा हो ।

चलचित्रको कथावस्तु एक नेपालीको अमेरिका पुग्ने सपना र संघर्षमा आधारित रहेको बताइएको छ । विशेषगरी, अवैध बाटो हुँदै अमेरिका पुग्ने नेपालीहरूको कथा यो सिनेमाले उठान गर्नेछ ।

घरपरिवार छाडेर अमेरिका पुग्नका लागि अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा जोखिम मोल्ने नेपालीको कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ ।

‘वन अफ दि मिलियन्स’मा हसनराजाका साथै ‘विर्खेलाई चिन्छस्’का अभिनेता सुवास थापाको पनि मुख्य भूमिका रहेको छ । थापा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

रामेश्वर कार्कीको छायांकन रहेको यस चलचित्रमा हसनराजा र सुवाससहित अमेरिकामा रहेका अन्य २० कलाकारले अभिनय गरेका छन् ।

‘वन अफ दि मिलियन्स’लाई विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराएपछि सम्भवतः आगामी वर्ष नेपालमा रिलिज गरिने बताइएको छ ।


ताजा खबर