राजेश हमालको ‘नरसिंहा अवतार’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’ को पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ९ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । निर्माणपक्षले सोमबार एक कार्यक्रमको आयोजना गरी पाँच सयभन्दा बढी विद्यार्थीहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टर मध्ये एकमा अभिनेता राजेश हमाललाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता राज कटुवाललाई राखिएको छ । उक्त पोस्टरको पृष्ठभूमिमा नरसिंहा भगवानको तस्बिरलाई राखिएको छ ।

दिवाकर भट्टराईद्वारा लिखित र निर्देशित यो चलचित्रले अभिनेता राजेश हमाललाई ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन गराएको छ । जस कारण, यो फिल्मलाई दर्शकहरूले विशेष रूपमा पर्खिरहेका छन् । कार्यक्रममा चलचित्रको ठुलो आकारको पोस्टर सार्वजनिक गरिएको थियो । हमालले आफ्नो लामो चलचित्र करियरमा यति ठुलो पोस्टर पहिलो पटक देखेको बताए ।

यसमा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यसको छायाङ्कन राजु विक्रम थापाले गरेका हुन् भने कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनले फिल्ममा लगानी गरेका छन् । करण सिंह फिल्मको प्रोडक्सन डिजाइनर हुन् भने वसन्त अधिकारी एसोसियट निर्देशक हुन् ।


ताजा खबर