बिहीबारबाट रिलिज हुने चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ले मंगलबार साँझ काठमाडाैंमा प्रिमियर गरेको छ । चलचित्रकर्मी तथा पत्रकारको उपस्थितिमा काठमाडौंको नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज्मा गरिएको प्रिमियरमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रशंसा गरेका छन् ।
चलचित्रले कुशल नृत्यकार बन्ने सपना साँचेको ज्याकी पात्रले बुवाको दबाबमा ब्रिटिस गोर्खामा भर्ती हुन गरेको संघर्षलाई देखाएको छ । चलचित्रको समयावधि २ घण्टा २० मिनेटको छ ।
चलचित्र हेरेपछि निर्देशक प्रदीप भट्टराईले ‘ज्याकीः आई एम ट्वान्थटी वान’ले नेपाली चलचित्रले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको दाबी गरे । ‘नेपाली चलचित्रमा जे बिक्छ, त्यही बनाउने चलन छ । यो चलचित्रका लेखक तथा निर्देशक रेनाशा राई रानाले त्यो परिपाटीलाई भत्काइदिनुभएको छ । यो चलचित्रले नयाँ सोचमा चलचित्र बनाउने मेकरलाई बाटो खुला गरिदिएको छ’, उनले भने ।
अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्केले नेपाली चलचित्र क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको बताए । उनीहरुले आफू प्रमुख कलाकार धिरज मगर र जसिता गुरुङको कामबाट प्रभावित भएको बताए । अर्की अभिनेत्री आना शर्माले नेपाली नृत्य परक चलचित्र बनाउन सक्नु आफैमा चुनौतिपूर्ण रहेकोमो त्यो चुनौतीलाई निर्देशक राईले पुरा गरेकोमा खुशी व्यक्त गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा यो शैलीको चलचित्र बन्नु आफैमा सुखद कुरा भएको उल्लेख गरे ।निर्देशक राईले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको खुलाइन् ।
अभिनेत्री जसिता चलचित्रमा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन् । अभिनेता धिरजले पनि चलचित्रका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए । रेनाशा राणा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ ।